काठमाडौं, १८ साउन । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका छन्।
भारतको नोएडामा सम्पन्न एमएफएनको उपाधि टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भए।
व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट आफ्नो नाममा पारे। उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्।
दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनसिप ९एनडब्लुसी० का संस्थापक समेत हुन्। यही एनडब्लुसीमार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो।











