अरु नेतालाई भेट्ने आफ्नो बानीलाई सामान्य रुपमा लिनुपर्छ -डाक्टर शेखर कोइराला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफूले अरू पार्टीका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएको बताउनुभएको छ ।

कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार मोरङमा आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कोइरालाले अरु नेतालाई भेट्ने आफ्नो बानी भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूसित आफूले भेटघाट एवं छलफल गरेको उहाले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा सबैको अभिभावक हुनुपर्ने भन्दै कोइरालाले अरु पार्टीका नेतालाई घरमै बोलाएर देशमा देखिएका समस्याबारे छलफल गर्न आफुले सुझाव समेत दिएको धारणा राख्नुभयो । नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रको पर्यावाची नै कांग्रेस भएकोले कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै नभइ देश नै कमजोर हुने उहाको भनाइ छ ।

त्यस्तै कोइरालाले पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको जिकिर गर्नुभयो । नेता कोइरालाले एमाले र अन्य पार्टीसितको प्रतिस्पर्धाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्