काठमाडौं । राजनीतिक उथलपुथलले घेरिएको नागरिक उन्मुक्ति पार्टी नाउपा मा नयाँ नेतृत्वको उदय भएको छ। पार्टीकी संस्थापक नेतृ रञ्जिता श्रेष्ठले पार्टीमा ल्याएका लालवीर चौधरी नै अब पार्टीको नयाँ अध्यक्ष बनेका छन्। साउन १४ र १५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
हाल प्रतिनिधिसभाका सांसद समेत रहेका चौधरी, नाउपाका संरक्षक र रेशम चौधरीका पिता हुन्। उनी केही वर्षअघि रञ्जिता श्रेष्ठकै सक्रियतामा पार्टीमा आवद्ध भएका थिए। तर पछिल्लो समय श्रेष्ठ र रेशम चौधरीबीच देखिएको असमझदारीका बीच, चौधरीलाई अगाडि सारिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
नयाँ नेतृत्व चयनसँगै भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउनुका साथै पार्टीको साधारण सदस्यबाटसमेत निष्कासन गरेको छ। यद्यपि श्रेष्ठले आफूलाई कुनै औपचारिक सूचना नदिइ गरिएको यो निर्णयलाई असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्।
“मलाई न बैठकमा बोलाइयो, न त विधान अनुसार प्रक्रिया अपनाइयो,” श्रेष्ठले भनिन्, “यो निर्णय विधिविपरीत छ,
अध्यक्षमा चयन भएपछि लालवीर चौधरीले पार्टीलाई विधि, विधान र संस्थागत परामर्शका आधारमा अघि बढाउने बताएका छन्। उनले पार्टीभित्र उत्पन्न अन्योलको समाधानका लागि आफू गम्भीर रहेको जनाउँदै, रञ्जिता श्रेष्ठलाई “आफ्ना कुरा पार्टीभित्र राख्न” सुझावसमेत दिएका छन्।
“करीब डेढ वर्षदेखि पार्टीको बैठक नै नबोलाइएको कारण गतिविधिहरू पूर्ण रूपमा अवरुद्ध थिए,” उनले भने, “त्यही भएर हामीले राष्ट्रिय भेलामार्फत निष्क्रियता तोड्न प्रयास गरेका हौँ।”
चौधरीले आफू पार्टी कमिटीको सुझाव र सल्लाहको आधारमा मात्रै अघि बढ्ने स्पष्ट पारे।











