भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको नाममा भइरहेको भ्रष्टाचार र अनियमितता सम्बन्धमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको छ।
रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा ‘व्यवस्थित मानव तस्करी’ भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भने, “संसदीय छानबिन समिति नबनाइएसम्म सदनमा विरोधको कार्यक्रम निरन्तर चल्नेछ।”
रास्वपाले सदनभित्रको आन्दोलनलाई फराकिलो बनाउँदै अब सडकसम्म संघर्ष विस्तार गर्ने निर्णय पनि गरेको छ। परियारका अनुसार, “अब हामी सदन मात्र होइन, सडकमा पनि जनतालाई साथ लिएर सरकारको लापरबाहीविरुद्ध आवाज उठाउनेछौं।”
बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसदको अधिकारलाई कमजोर पार्ने प्रयास भएको भन्दै त्यसविरुद्ध कडा रूपमा प्रतिवाद गर्न सबै सांसदलाई निर्देशन दिएको छ।












