कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडीहरू एकआपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ। मंगलबार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा लम्की क्षेत्रमा दुर्घटना भएको हो।
दुर्घटनामा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार से.१ झ ३३० नम्बरको गाडीले अगाडि रहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, दुबै गाडीमा सामान्य क्षति भए पनि कुनै मानवीय क्षति भने नभएको पुष्टि भएको छ।
बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने से.१ झ ३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको हो।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












