काठमाडौं, साउन १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीपति र बिचौलियाहरुका कारण मुलुकको बिकास र समृद्धि अवरुद्ध हुन पुगेको बताउनुभएको छ ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा निर्वासन नामक पुस्तक लोकार्पण गर्दै प्रचण्डले मुलुकको बिकास र समृद्धिलाई पुँजीपति र बिचौलियाहरुले कव्जामा लिएको बताउनुभएको हो । उहाले अहिले अदालत, प्रशासन सवैतर्फ भ्रष्टाचार फैलदै गएको जिकिर गर्नुभयो ।
प्रचण्डले संघीय निजामती विधेयकमा सबै सांसदहरु नै अपमानित हुने छेडखानी भएको बताउनुभयो । उहाले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको र राजतन्त्र उठ्न नसक्ने तर्क गर्नुभयो । दलाल पुँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गर्नु पुष्पलाल प्रति सम्मान भएको भन्दै यसैबाट कम्युनिष्ट एकता सुरु हुन सक्ने उहाले बताउनुभयो । दलालहरूको पनि दलाल भएर काम गर्ने कम्युनिस्ट नेता कम्युनिस्ट हुनै नसक्ने प्रचण्डको भनाइ छ ।











