काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताउनुभएको छ ।
शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाईको समस्या कम गर्न पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अव दिर्घकालीन र तत्कालीन उपाय अवलम्वन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिनुभयो ।
उहाले हवाई उडानमार्फत महोत्तरी आउदा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै मधेस प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित मधेशका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने धारणा राख्नुभयो ।
त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको थियो । मन्त्रिपरिषद् को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।











