एमाले केन्द्रीय कमिटीको निर्णयः पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीति फर्कन नदिने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । मंगलाबार मध्य राति सम्पन्न नवौँ केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए । जुन बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त प्रस्तावप्रति असहमति जनाएका थिए ।

गौतमका अनुसार, ‘पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले उनी कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको हो।’

यसैबिच, बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै आगामी भदौमा हुने विधान अधिवेशनमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको छ । यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएसँगै विधान संशोधनको बाटो खोलेको छ ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले ‘मिसन २०८४’ का लागि केपी ओलीको नेतृत्व आवश्यक रहेको सुझाव दिएका थिए। गौतमले भने, ‘७० वर्षको उमेर हद र कार्यकालको सीमालाई हटाएर ओलीलाई रोक्न नचाहेको स्पष्ट पारेका छन्।’

यद्यपि उनले योग्य नेताहरूले अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने प्रस्ट पारे। पूर्व राष्ट्रपतिको हकमा भने भविष्यमा प्रणालीमाथि उठ्न सक्ने प्रश्नलाई ध्यानमा राख्दै पार्टीको सक्रिय राजनीतिमा आउन नहुने निष्कर्षमा पुगेको भन्दै गौतमले बताए, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नु हुँदैन’, उनले भने ।

उनका अनुसार यो निर्णय केवल एमालेको मात्र नभई सम्पूर्ण राजनीतिक दलहरूले गम्भीरताका साथ लिनुपर्ने विषय हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्