काठमाडौं, असार २९ । काठमाडौं महानगरले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट असार ३२ गते बस्ने नगरसभा बैठकले पारित गर्ने भएको छ।
आइतबार बसेको १७औँ नगरसभाको पहिलो बैठकमा मेयर बालेन शाहले असार ३२ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।
महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।
बजेट ल्याउनुअघि मेयर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने थियो।











