काठमाण्डौं, २५ असार सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ भने असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता टोलीलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ ।
त्यस्तै असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको र खेलाडीहरु व्यवसायिकरुपमा अगाडि बढेको धारणा राखे ।
कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिव दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।












