काठमाडौं, असार १२ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई आउन आह्वान गरेको छ।उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आगामी १७ गते बैठकमा बोलाएको हो।
आफूलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. ढकालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने बताउँदै सोही भूमिकामा काम गर्न पाउनुपर्ने माग राखेको थियो।
रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मुलतः दुई वटा माग राखेको बताए। उनले रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने, महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायतलाई विपक्षी बनाएका थिए।
निर्वाचन आयोगले गत साता ढकालका नाममा पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो।












