काठमाडौं, ९ असार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानवका लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताएका छन् ।
ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको बताए ।
‘ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता परेको कुरा यहाँहरूलाई थाहा नै छ । ऊर्जा अब केबल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने कुरामा हाम्रो दुई मत छैन,’ मन्त्री खड्काले भने, ‘ऊर्जा हाम्रो जीवनको लागि अक्सिजन सरह बनेको कुरा हामीले महसुस गर्न थालेका छौँ । त्यसैले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु हाम्रो कर्तव्य भएको छ ।’
उनले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । आन्तरिक प्रयोगको लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत उनले जानकारी गराए।











