शिक्षकका माग सरकारले पूरा गरोस् भनेर सदन अघि बढाएका हौंः प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

आज (सोमबार) बिहान महासंघका पदाधिकारीहरूले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ‘प्रचण्ड’सँग उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको छ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताएका थिए। ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ,’ उनले भने।

‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं,’ उनले भने।

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए। माओवादी केन्द्र ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्