काठमाण्डौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताए ।
शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसंग जनप्रतिनिधिः बिचार बिमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् ।
अख्तियार लगाएत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागवण्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरुबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको उनले बताए । लिङदेनले अहिलको संविधान र व्यवस्था ल्याउने नेताहरुमा समेत समस्या रहेको धारणा राखे ।
अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाई छ ।
साथै लिङ्देनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरुलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे ।












