उपप्रधानमन्त्री सिंहद्वारा बागमती करिडोरको स्थलगत निरीक्षण ,नगर प्रमुख रिसाल ले गरे स्वागत (फोटोफिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ , असार ५ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती  करिडोरको अनुगमन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।  

उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम बारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गर्नुभएकाे छ । वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि  आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराउनुभएको छ  । टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमती सौन्दर्यीकरण लगायतको अवलोकन गरेको छ ।

सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिनुभयो । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल ,काठमाडौँ ३ का सांसद सन्तोष चालिसे र नगर प्रबक्ता नारायण सुबेदि लेशहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेको भन्दै आभार व्यक्त गर्नुभएकाे थियो । नगर प्रमुख रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराउनुभयो । 

काठमाडौँ उपत्यकाको नदी र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ । उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाले देखिनै काठमाडौँ उपत्यकाका नदीनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आउनुभएको छ । यस वर्षको बजेटमा समेत शहरी विकास मन्त्रालयले उपत्यकाको नदीनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।

सो क्रममा काठमाडौँ आयुक्त सुवास बस्नेतले गोकर्ण क्षेत्रकाे सुन्दरीजल सडकमा परेका घरहरूको क्षतिपूर्तिको विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो ।  बुधबार उपप्रधानमन्त्री सिंहले विष्णुमतीको बुढानिलकण्ठ क्षेत्रकाे निरीक्षण गर्नुभएकाे थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्