काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उपाध्यक्ष रविन्द्र मिश्र तीनकुने घटनामा प्रतिवादी बनाइएपछि मंगलबार अदालतमा उपस्थित भई ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
मंगलबार बिहान मिश्र आफैँ अदालतमा उपस्थित भएपछि बयान तथा थुनछेक बहस भएको थियो। बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। मिश्रका पक्षबाट वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, भीमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले बहस गरेका थिए।
धरौटी वापतको ३ लाख रुपैयाँ मिश्रकी पत्नी सारिका कार्कीले अदालतमा बुझाएकी थिइन्। सरकारी वकिल पक्षबाट भने ८ जना कानुन व्यवसायीले मिश्रविरुद्ध बहस गरेका थिए।
मिश्रविरुद्ध चैत १५ गते घटेको तीनकुने घटनाको सन्दर्भमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर अन्तर्गत सजायको मागदाबी गरिएको थियो। तर प्रारम्भिक सुनुवाइपछि अदालतले उनी धरौटीमा रिहा हुनसक्ने ठहर गरेको हो।
यसअघि सोही प्रकरणमा राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि सोमबार अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो।












