काठमाडौँ । प्रतिनिधिसभाको बैठक असार ५ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। आज केही समय बसेको बैठकपछि सभामुख देवराज घिमिरेले सहमतिको प्रयासस्वरूप बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
मंगलबारको बैठक सुरु भएपछिको केहीबेरमै आधा घण्टाका लागि स्थगन गरिएको थियो। त्यसपछि दिउँसो ४:३० बजे पुनः बस्ने सूचना टाँस गरिएको थियो। तर, निर्धारित समयमा पनि बैठक नबसेपछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार बिहान ११ बजेका लागि बैठक सारिएको जानकारी दिएको हो।
बैठक पटक–पटक स्थगित हुनुको मुख्य कारण भिजिट भिसा प्रकरणमा दलहरूबीच सहमति नजुट्नु हो। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उक्त प्रकरणमा छानबिन समिति गठनको माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।
यसअघि सभामुख घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतकहरूसँग संवाद प्रयास गरेका थिए तर छलफल कुनै निष्कर्षविहीन रूपमा टुंगिएको थियो। सचिवालयका अनुसार, सभामुखले बुधबारसम्म सहमतिको गृहकार्य गर्न दलहरूलाई समय दिएका छन्।











