नेपालगञ्जमा २ हजार बढी करदाता निलम्बित

खबर बुक
  • ख-
  • ख+

२८ जेठ, काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा दर्ता मूल्यअभिवृद्धि करदातामध्ये २ हजार २०० करदाता निलम्बनमा परेका छन्।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले उक्त संख्याका मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए।

‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोक्का गरिएको छ’, उनले भने। आन्तरिक राजस्व विभागले ६ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ।

बाँकेमा ८ हजारभन्दा बढी मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन्। करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए।

उनले यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट गरे। ‘निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहुँदैन। यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ’, उनले भने।

यसअघि विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ बमोजिम लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो। यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्यअभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्