विश्व बैंकले घटायो विश्व आर्थिक वृद्धिदरको पूर्वानुमान, एसियाबाहेकका क्षेत्रमा आर्थिक गतिविधि सुस्त

खबर बुक
  • ख-
  • ख+

 २८ जेठ, काठमाडौं ।विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको छ।

बढ्दो व्यापारमा तनाव र अस्थिर आर्थिक नीतिका कारण विश्व बैंकले सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत पूर्वानुमान गरेको छ भने सन् २०२६ का लागि घोषणा गरेको २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशत हुने अनुमान गरेको छ।

विश्व बैंकद्वारा सार्वजनिक ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदनअनुसार हाल विश्वभर देखिएको अस्थिर राजनीति, विभिन्न देशबीचको लडाइँलगायत कारण कारण विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रमा वृद्धिदर घट्ने देखिएको छ। विश्व बैंकले सबै क्षेत्रका भूगोलमा बस्ने नागरिकसँगको प्रतिक्रियालाई समावेश गरेर आर्थिक वृद्धिको पूर्वानुमान घटाएको जनाएको छ। 

विश्व बैंकका अनुसार विकसित देशमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो।

उदाउँदा बजार अर्थतन्त्रमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो। बैंकले अमेरिकाको वृद्धिदर २०२५ मा १.४ प्रतिशत मात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम र सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्रै हो।

विश्व बैंकले युरोप र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले भने, ‘एसियाबाहेकका क्षेत्रमा विकासको गति सुस्त बन्दै जाँदा विकासशील राष्ट्रलाई थप चुनौतीमा पार्ने सम्भावना छ। भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्