वैशाखसम्म साढे १३ खर्ब रेमिट्यान्स भित्रियो, करिब ७ लाख वैदेशिक रोजगारीमा 

खबर बुक
  • ख-
  • ख
  • ख+

२७ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा साढे १३ खर्ब रुपैयाँ बढी रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। चालू वर्षको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरुले १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन्। 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको हो। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ। उक्त अवधिमा नयाँ तथा पुन: श्रम स्वीकृति लिनेको संख्या कुल ६ लाख ८५ हजार ९ सय २४ जना पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३ सय ७ र २ सय ३६ हजार ३ सय ९८ रहेको थियो।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्