अन्डाको मूल्य बढेपछि किसानलाई राहत, उपभोक्तालाई महँगो

खबर बुक
  • ख-
  • ख
  • ख+

चितवन।  लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अन्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो।

 नेपाल लेयर्स कुखुरा पालक संघले अन्डाको समर्थन मूल्य तोक्दै आएको छ। आजदेखि लागू हुने गरी एक्सएल अन्डा प्रतिक्रेट (३० वटा)को ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अन्डा ४६५ र मझौला ४३५ रुपैयाँ तोकिएको छ।

 यसअघि प्रतिक्रेट १५ रुपैयाँले बढेको हो। यो हिसाबले किसानले प्रतिगोटा अन्डाको मूल्य १५ रुपैयाँ ५ पैसा प्राप्त गरेका छन्। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ। उनले भने, ‘बढ्दासमेत किसानले लागत मूल्य पाउन सकेका छैनन्। तर, मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन्।’

पोखरेलले गर्मीका कारण अन्डा उत्पादन २५ प्रतिशतसम्म घटेको बताए। गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उनी बताउँछन्। यससँगै विभिन्न खालका रोग देखा पर्ने गर्दछन्। अन्डाको मूल्य बढेर लागत रकममा किसानलाई राहत भए पनि उपभो्रक्तालाई भने महँगो परेको छ।

पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अन्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनको भनाइ छ।

अन्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ। नेपालमा अन्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्