७ जेठ, काठमाडौं । डेढमहिने राजनीतिक खिचातानीपछि मंगलबार बेलुकी कांग्रेस कोटाबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका डा. विश्वनाथ पौडेलले केही बेरमा शपथ लिँदै छन्।
डा. पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा नियुक्त गरेको हो।
नवनियुक्त गभर्नर डा. पौडेलले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। उनका अनुसार पाैडेलले १० बजे सरकारी कार्यालय खुल्नासाथ अर्थ मन्त्रालय पुगेर नियुक्ति बुझ्नेछन्।
त्यसपछि गभर्नर पौडेलले सर्वोच्च पुगेर प्रधानन्यायाधीश राउतसमक्ष शपथ लिने कार्यक्रम छ। शपथपछि गभर्नर पौडेलले आजै राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्।
मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।











