काठमाडौं । नेपाली शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। आज मङ्गलवार नेप्से परिसूचक १४।८७ अंकले घट्दै २,६३४।२३ विन्दुमा झरेको छ। बजार समग्र रूपमा ओरालो लागे पनि केही कम्पनीका शेयर भने उच्च लाभमा देखिएका छन्।
आजको कारोबारमा विकास बैंक, जीवन बीमा र उत्पादन समूहबाहेक अन्य सबै समूहको परिसूचकमा गिरावट आएको छ। विशेषगरी होटल तथा पर्यटन र व्यापार समूहका शेयरमा दोहोरो अंकको गिरावट देखिएको छ। दुवै समूहका शेयर झन्डै २ प्रतिशतभन्दा धेरैले घटेका छन्।
नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयरमा आज सबैभन्दा बढी दबाव देखियो, जसको मूल्य ६ प्रतिशतभन्दा धेरैले घट्यो। यता, बजार ओरालो लाग्दा पनि क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका लगानीकर्ताहरूले भने ठूलो फाइदा उठाएका छन्। यी दुई कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको वृद्धी भएको छ।
कारोबार रकम पनि घटेको छ। आइतवार १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर मात्र किनबेच हुँदा कुल कारोबार ९ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ।
लगातारको गिरावटले लगानीकर्ताहरूको मनोबलमा असर परेको देखिन्छ भने विश्लेषकहरू बजारमा अझै केही दिन उतारचढाव रहन सक्ने अनुमान गरिरहेका छन्।











