६ वैशाख, काठमाडौं । तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा थप एक जना पक्राउ परेका छन्।
गएराति नेपाल प्रहरीको सीआईबी टोलीले सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई कोटेश्वरको महादेवस्थानबाट नियन्त्रणमा लिएको हो।
राजावादीहरुको आन्दोलनमा निषेधित क्षेत्र तोड्न तम्सिनेमा उनी पनि एक भएको प्रहरीको आरोप छ। पक्राउ परेका उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको सीआईबीले जनाएको छ।
चैत १५ गते राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो। सोहीक्रममा आगजनी र प्रहरीको गोली प्रहारबाट एक–एक जनाको मृत्यु भएको थियो।
यस्तै, प्रदर्शनकारीले पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए।











