१८ चैत, काठमाडौं । प्रहरीले काठमाडौंको माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपपछाडि युवकको हत्या गरी शव गाडेको फेला पारेको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका– ८ घर भएका र हाल गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको हत्या गरी शव गाडेको फेला परेको हो।
चैत ११ देखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि जमिनमा गाडीएको अवस्थामा शव फेला परेको जिल्लादा प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले युवक हत्या अभियोगमा ६ जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
उनी हराएको सूचना प्रहरी वृत्त बौद्धमा पुगेपछि प्रहरीले खोजतलास गर्ने क्रममा ६ जनालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयलाई लिई हत्या गरेको खुलेको र हत्यामा संलग्नलाई पक्राउ गरिएको बोहराको भनाइ छ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल गोकर्णेश्वर–५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका विजय यादव, १८ वर्षका करनकुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका उत्तम मण्डल र भारतको बिहार घर भई हाल दक्षिणढोका वस्ने २९ वर्षका सुनील शर्मा रहेका छन्।
प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँचदिने म्याद पाएको छ।












