नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशतले घट्यो,  प्रतिसेयर आम्दानी २९.२८ रुपैयाँमा सीमित

खबर बुक
  • ख-
  • ख
  • ख+

३० माघ, काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफामा ३२.९७ प्रतिशतको गिरावट आएको हो। 

कम्पनीले पुस मसान्तसम्म कुल २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकि, गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशतले घटेर २ अर्ब ३४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ भने कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशतले घटेर ७ करोड ६७ लाखमा सीमित भएको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ।

पुससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०।३३ गुणा रहेको छ। यसैगरी कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ।

टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी १८ अर्ब छ भने रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्