अधिक तरलता बढेपछि ९० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार एकै दिन ९० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ठूलो परिणाममा रकम उठाउन लागेको हो।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलमार्फत उक्त रकम उठाउन लागेको हो। बोलकबोल गर्न सकिने रकम कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

सावाँ तथा ब्याज भुक्तानी आगामी माघ ३० गते तोकिएको छ। यसको ब्याजदरसमेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखेर आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने छ।

स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउन्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्ने छ।

बोलपत्र स्वीकृत भएका काउण्टर पार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउन्टर पार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्