काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को खुद नाफा १६.४४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको ७ अर्ब ९२ करोड १ लाख रुपैयाँको तुलनामा १६.४४ प्रतिशत कम हो।
टेलिकमको प्रतिसेयर आम्दानी पनि ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँमा झरेको छ। असार मसान्तसम्म टेलिकमको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.९८ गुणा छ।
टेलिकमको बिक्री आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोडमा झरेको छ भने कुल आम्दानी ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोडमा सीमित भएको छ।











