टिप टप हेल्प नेपाल आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ चैत । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा उपाधि दावेदार हेल्प नेपालले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ ।

त्यस्तै मंगलबार महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० ले पराजित गर्यो । आर्मी २५–१६,२५–२३, २५–७ ले विजयी‌ भएको हो । त्यस्तै महिलर्फको अर्को खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्