नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ जेठ । नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान हुँदैछ ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामध्ये केहीमा आजदेखि खोप लगाउन सुरु भएको छ भने केहीमा सम्बन्धित जिल्लाले आफ्नो अनुकूल समयमा भोलि वा पर्सिदेखि नै सुरु गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने छ । विभिन्न जिल्लामा दादुरा महामारी देखिएपछि अन्य जिल्लामा फैलिन सक्ने जोखिम बढेको भन्दै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिन थालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने उहाँले बताउनु भएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन उहाँको आग्रह छ ।

एकजना दादुरा सङ्क्रमितबाट १८ जनासम्ममा यो रोग सर्न सक्ने उहाँले बताउनुभयो । नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्