दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको मुहार फेर्न सक्ने सम्भावना बोकेको दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइट पुगेका सभापति लामिछानेले खानीको स्थलगत अवलोकन गर्दै वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।
अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङको काम सम्पन्न भए पनि पछिल्लो एक वर्षदेखि परीक्षणको काम रोकिँदा करोडौँ रुपैयाँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
पहिलोपटक खानीको स्थलगत अवस्था अवलोकन गरेको उल्लेख गर्दै लामिछानेले ग्यास उत्पादनको आवश्यकता जति महत्वपूर्ण छ, त्यति नै तत्काल महँगा उपकरणको संरक्षण पनि आवश्यक रहेको बताए। प्राविधिक काम कहाँ र किन रोकिएको हो भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
लामो समयदेखि रोकिएको वेल टेस्ट तथा व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञहरूसँग परामर्श गर्ने प्रतिबद्धता पनि उनले जनाए।
प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको उल्लेख गर्दै लामिछानेले यसले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने बताए। उनले यस आयोजनालाई कर्णालीको मुहार फेर्न सक्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा व्याख्या गरे।
नेपाल र चीनबीचको समझदारीअनुसार विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता गरी ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको हो।
आम नागरिकसँग गरिएको प्रतिबद्धता र मुलुकले चाहेको समृद्धिको आधार यस्तै राष्ट्रिय गौरवका आयोजना भएको बताउँदै सभापति लामिछानेले खानीको उत्खननलाई पूर्णता दिन निरन्तर पहल गर्ने बताए।
विस्तृत अध्ययनपछि ठोस कदम चालिने र कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।










