विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि ‘क्यान्डिडेट क्लब’ मा नाम दर्ता गर्न आह्वान गरे पनि कोशी प्रदेशका करिब ३० प्रतिशत पालिकामा वडाध्यक्षका लागि एकजनाको पनि आवेदन नपरेको पाइएको छ ।
सीधै मेयर-उपमेयर साथै गाउँपाालिका अध्यक्ष-उपाध्यक्ष पदमा लर्को लाग्दा रास्वपामा तल्लो तहको नेतृत्वका लागि आकर्षण घट्दै गएको देखिएको छ ।
रास्वपा सभापति रवि लामिछानेले समेत केही दिनअघि चितवनमा पार्टीभित्र वडाध्यक्ष पदमा चुनाव लड्न चाहने उम्मेदवारहरूको कमी देखिएपछि व्यङ्ग्यात्मक रूपमा ‘राजीनामा दिएर वडाध्यक्षमा लड्न आउनुपर्ला जस्तो छ’ भनेका थिए ।
पार्टीको आधिकारिक सूचीअनुसार कोशीका १३७ स्थानीय तहमध्ये पहाडी र हिमाली जिल्लाका ४१ वटा पालिकामा हालसम्म वडाध्यक्ष पदका लागि कसैले पनि क्यान्डिडेट क्लबमा नाम दर्ता नगराएका हुन्। रास्वपाले क्यान्डिडेट क्लबमा दर्ता भएकाहरूमध्येबाटै आगामी निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेको छ ।
पार्टीबाट प्राप्त विवरणअनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका तथा आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकाका कुनै पनि वडामा रास्वपाका तर्फबाट वडाध्यक्ष बन्न कसैले आवेदन दिएका छैनन् ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, बराहपोखरी, दिप्रुङ चुइचुम्मा, जन्तेढुङ्गा, केपिलासगढी र साकेला गाउँपालिकामा पनि अहिलेसम्म वडाध्यक्ष उठ्ने चाहना कसैले व्यक्त गरेका छैनन्। इलामको देउमाई र इलाम नगरपालिका तथा फाकफोकथुम, माङसेबुङ, रोङ र सन्दकपुर गाउँपालिकामा पनि वडाध्यक्षका आकांक्षीहरूले नाम दर्ता गराएका छैनन् ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका तथा हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा र याङवरक गाउँपालिका र सङ्खुवासभाको चैनपुर, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सभापोखरी र सिलिचोङ गाउँपालिकामा पनि वडाध्यक्षका लागि क्यान्डिडेट क्लबमा आवेदन नपरेको रास्वपाले जनाएको छ ।
भोजपुरको आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका, धनकुटाको चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ, तेह्रथुमको मेन्छ्यायेम तथा उदयपुरको सुनकोशी गाउँपालिकामा समेत हालसम्म रास्वपाबाट वडाध्यक्षको उम्मेदवार बन्न कसैले आवेदन नदिएको प्राप्त दस्तावेजमा उल्लेख छ ।
९६ पालिकामा १०८२ आवेदन, तराईका जिल्लामा आकर्षण
यता कोशी प्रदेशका १४ वटै जिल्लाका बाँकी ९६ पालिकाका वडाहरूमा भने रास्वपाबाट वडाध्यक्षको उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा कुल १,०८२ जनाले आवेदन दिएका छन्।
एकल पालिकाका आधारमा सबैभन्दा बढी निवेदन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा परेको छ। त्यहाँ वडाध्यक्षका लागि मात्रै ४७ जनाले आवेदन दिएका छन्।
जिल्लागत रूपमा मोरङ सबैभन्दा अगाडि छ। मोरङका १७ पालिकाबाट वडाध्यक्षको उम्मेदवार बन्ने आकांक्षा राख्दै ३२५ जनाले निवेदन दिएका छन्, जसमा धनपालथानमा ३८ र कटहरीमा ३२ जनाको आवेदन परेको छ।
त्यस्तै, सुनसरीका १२ पालिकाबाट २६९ जना, झापाका १५ पालिकाबाट २३६ जना र उदयपुरका ७ पालिकाबाट १२९ जनाले क्यान्डिडेट क्लबमा निवेदन दिएका छन्। उदयपुरको त्रियुगा नगरपालिकामा मात्रै ३९ जनाको आवेदन परेको छ।





