पेसागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो : प्रधानमन्त्री शाह

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी पहिलो मानक भएको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेका कुरालाई पूर्ण रूपमा आत्मसात् गरी व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका हुन् ।

उनले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु र गराउनु पेसागत सफलताका लागि महत्त्वपूर्ण रहेको बताए । जिम्मेवारीप्रति जवाफदेहिता पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो ।

‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु/गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम आवश्यकता पर्दछ,’ उनले भने ।

प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए ।

उनले कुनै पनि अनुचित प्रभावमा नपरी, भेदभाव नगरी कर्तव्यप्रति प्रतिबद्ध रहन प्रहरी अधिकारीहरूलाई आग्रह गरे । नागरिकको भावना बुझेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रहरी सङ्गठनमा पूर्ण प्रतिबद्धताका साथ सहयोग र सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगबाट प्रहरीको काम छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने बताए । प्रविधिको सही प्रयोगले समय बचत हुनुका साथै अपराध अनुसन्धान र घटनाको नियन्त्रणमा समेत सहज हुने उनको भनाइ थियो ।

‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री शाहले यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उज्ज्वल भविष्य र सफलताको कामना गरे । प्रहरी सेवामा आबद्ध रहन निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे ।

समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्