कैलालीको निगाली घटना : भोजमा विवादपछि कुटपिट, घटना लुकाउन भीरमा फालियो

खबर बुक
  • ख-
  • ख
  • ख+

१२ असोज, धनगढी । कैलालीको चुरे गाउँपालिका–१ निगालीमा करिब एक साता अघि पास्नीभोजमा भएको विवादका क्रममा कुटपिटबाट एक जनाको ज्यान गएको र घटना लुकाउन भीरमा लगेर फालेको खुलेको प्रहरीले जनाएको छ ।

स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहराको कुटपिटबाट मृत्यु भएपछि घटना लुकाउन शव भीरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकृतले बताए ।

घटना ५ असोजको हो । सो दिन नातेदार धनबहादुर बोहराको नातीको पास्नीमा सहभागी हुन गएका थिए यज्ञबहादुर । त्यसपछि उनी बेपत्ता भएका थिए । खोजीका क्रममा उनको शव तुलिखेत जंगलको भीरमा फेला परेको थियो ।

घटना अनुसन्धानका लागि प्रहरीले पास्नीमा उनीसँगै मदिरा सेवन गरेका आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पास्नी भएको घरका मूली धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन् ।

मृतकका छोराले दिएको जाहेरीका आधारमा आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले बताए ।

प्रहरी स्रोतका अनुसार पास्नीमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो । अघिल्लो दिन श्रीमतीलाई गाली गरेको विषयमा सुरु भएको विवाद कुटपिटमा परिणत हुँदा यज्ञबहादुर भुईँमा ढलेर अचेत भएका थिए ।

कुटपिटपछि अचेत अवस्थामा रहेका यज्ञबहादुरको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले ‘मरेपछि म जेल जाने हुँ’ भनेको र अर्का व्यक्तिले ‘तपाईंले गलत गर्नुभयो,’ भनेको सुनिन्छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कुटपिटबाटै सोही राति यज्ञबहादुरको मृत्यु भएको थियो । तर, घटना लुकाउन उनलाई भीरबाट लडेको देखाउने उद्देश्यले शव बोकेर भीरतर्फ लगेर फालिएको खुलेको छ ।

पक्राउ परेकामध्ये केहीले प्रहरीसमक्ष घटनास्थलमै मृत्यु भएको र फस्ने डरले शव भीरमा फालेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रारम्भमा दुई जनाबीच विवाद र कुटपिट भए पनि शव भीरमा फाल्ने कार्यमा अन्य व्यक्तिको समेत संलग्नता वा योजना थियो कि थिएन भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

डीएसपी महराले घटना अनुसन्धानकै क्रममा रहेकाले विस्तृत पाटोबारे अहिले प्रतिक्रिया दिन नमिल्ने बताए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्