‘राजनीतिक रहर वा पदको लालच थिएन, यो मेरो न्याय खोज्ने यात्रा हो’ : रचना खतिवडा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू कुनै राजनीतिक रहर वा पदको लालचले सांसद बन्न नआएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफ्नो छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न आफू संसद्मा आएको बताइन्।
‘कुनै राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्, ‘मेरो कोखमा नौ महिना हुर्किएको, ताते–ताते गर्दै मेरा आँखासामु बढेको मेरो मुटुको टुक्रा तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो।’
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो घरको दैलोसम्म आएको र प्रधानमन्त्रीले पटक–पटक आग्रह गरेपछि आफू सांसद बनेको उनले बताइन्। अन्य जेनजी युवाका सन्तानको बलिदान खेर जान नदिन आफू संसद्मा पुगेको उनको भनाइ थियो।
खतिवडाले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन्।
‘जुन दिन जेनजी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिच्किचाहट हुने छैन,’ उनले भनिन्।
तर आफूलाई ‘छोराको लाससँग सांसद पद साट्न आएको’ भन्दै गरिएको टिप्पणीप्रति उनले आपत्ति जनाइन्। यस्तो टिप्पणीले आफूलाई स्तब्ध बनाएको उनको भनाइ थियो।
‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्। उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ,’ उनले भनिन्।
आफ्नो छोरालाई जीवित अवस्थामा फर्काएर काखमा राखिदिए आफू तत्काल सांसद पद त्याग्न तयार रहेको पनि खतिवडाले बताइन्।
उनले आफूलाई आरोप लगाउनुअघि आमाको पीडा बुझ्न आग्रह गरिन्। ‘छोराको लाससँग पद साट्न आएकी’ भन्ने अपशब्द प्रयोग गर्नुअघि हजारपटक सोच्न आग्रह गर्दै उनले आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्न चेतावनी दिइन्।
खतिवडाले आफू सामान्य नागरिकलाई उचालेर आपसमा लडाउँदै नेता बन्न वा ‘मेडिकल माफिया’ बन्न राजनीतिमा नआएको बताइन्।
‘म खबरदारी गर्न आएकी हुँ। मेरो छोरो सहिद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ,’ उनले भनिन्।
सरकारसँग आफ्ना पनि धेरै प्रश्न र असन्तुष्टि रहेको उल्लेख गर्दै उनले आफू जिम्मेवार भएर बोल्ने बताइन्। जेनजी सहिदकी आमाको अपमान हुँदा सरकार के हेरेर बसेको छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरिन्।
‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन। न्यायको आभास हुने गरी काम गर्नुहोस्,’ खतिवडाले सरकारसँग आग्रह गरिन्।










