कांग्रेस सचेतक राईको आग्रह : विपद्का बेला अहङ्कार होइन, संवाद र जिम्मेवारी चाहिन्छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले रसुवाको भोटेकोशी बाढीपीडितको पुनर्स्थापना तथा प्रभावित नागरिकको पुनर्निर्माणका लागि तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरे।

बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकको पुनर्स्थापना कहिले र कहाँ हुन्छ भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने उनको भनाइ छ।

‘सरकारसँग म सोध्न चाहन्छु, पीडित नागरिक अब कहिले, कहाँ बास पाउँछन् ? अनि कति लामो समयपछि तिनको आफ्नै घर हुनेछ ? त्यो समयसम्म ती नागरिकलाई कहाँ र कसरी पुनर्स्थापित गरिनेछ ?’ उनले प्रश्न गरे।

राईले प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य सङ्कट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै तत्काल एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

उनले स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा सम्बन्धित निकायले मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणका लागि एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

विपद् व्यवस्थापनमा सुरुदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या देखिएको पनि राईले बताए।

बाढीमा घर तथा आफन्त गुमाएका परिवार, रोजगारी गुमाएका युवा तथा महँगीबाट प्रभावित नागरिकले सरकारसँग भाषण र आश्वासन नभई परिणाम र उत्तरदायित्व खोजिरहेको उनको भनाइ छ।

‘रोशीको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महँगीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन, अब परिणाम खोजेको छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्