ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाहीको चेतावनी, फोनबाटै उजुरी गर्न सकिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा नपाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

ग्यासमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कारबाही गरिने भन्दै प्रशासन कार्यालयले ग्यास व्यवसायीलाई चेतावनी दिएको हो ।

ग्यासको सहज आपूर्तिको सुनिश्चितताका लागि विक्रेताहरूलाई ग्यास उद्योग वा डिलरबाट प्राप्त हुनासाथ जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न प्रशासनले निर्देशन दिएको छ ।

यदि कुनै पनि विक्रेताले ग्यास भण्डारण गरेर लुकाएको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिनेछ । हाल ग्यासको आयात दैनिक रूपमा भइरहेको सरकारले बताएपनि उपभोक्ताले ग्यास पाइरहेका छैनन् ।

त्यसैगरी, ग्यास स्टक राखेर बिक्री नगरेको वा लुकाएको पाइएमा वा सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुलेमा त्यस्ता व्यक्ति वा संस्थालाई कालोबजारी सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस जिल्ला भरि नै ग्यासको उपलब्धता र मूल्यको विषयमा सघन अनुगमन समेत गरिरहेको जनाएको छ ।

यदि कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको बारे सूचना पाएमा तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरी जानकारी गराउन सम्पूर्ण उपभोक्ताहरूलाई अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्