काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलामा बोल्दै खनालले नेपालले असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।
उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने बताए । बीआरआई फ्रेमवर्कलाई अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा पनि उनले जोड दिए ।
चीनको विकास मोडल तथा सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने खनालको भनाइ थियो । विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्यून भए पनि जलवायु परिवर्तनबाट नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवा बाढीपछि नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताउँदै उनले नेपाल र चीनले हिमालयीय पारिस्थितिकीय प्रणाली संरक्षणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचना प्रणाली बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास गर्ने र विपद् न्यूनीकरणमा साझेदारी गर्ने बताए ।
कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत्, कृषि, पर्यटन तथा डिजिटल विकासमा व्यावहारिक सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत चाङले विपद् वा बाह्य चुनौती जेसुकै आए पनि चीन सधैँ नेपालको साथमा उभिने बताए ।









