काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले पार्टीभित्रको विवाद मिलाउन आफूहरू लचक हुन तयार रहेको बताएका छन्। यद्यपि, पार्टीको विधानको सर्वोच्चतालाई निरूपण गरेको विषयलाई अस्वीकार गर्न नमिल्ने उनको तर्क छ।
उनले भने, ‘अब पनि असहमत राख्ने कसैलाई छुट छैन। अब संस्थागत रूपमा वार्ता र पार्टी एकताको कुरा होइन। व्यक्तिगत रूपमा कुराकानी गर्ने, त्यसले निर्णय गर्दै गर्दा सहज बनाइदिने कुरा भइरहेको छ।’
पूर्वसभापति शेरबहादुर देउवा समूह पनि महाधिवेशनको मिति तोकेर अगाडि बढेका छन्। यसअघि तत्कालीन कार्यवाहक पूर्णबहादुर खड्का र नेता डा शेखर कोइरालाले अघि सारेको माग सम्बोधन गर्न संस्थापन पक्ष तयार भएपनि देउवा पक्षको असहमति कायमै छ।
चुनदेवी समूहले १४ औँ महाधिवेशनमा निर्वाचित देउवा नेतृत्वको कार्यसमितिबाटै महाधिवेशन हुनुपर्ने अडान राखेको छ। तर त्यो कुरा स्वीकार्न संस्थापन पक्ष तयार छैन।
सदस्यता अद्यावधिकमा जस्तै केन्द्रीय समिति समायोजनको विषयमा पनि तयार हो? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘यो दुइटा पार्टी होइन, यो एउटै पार्टी हो। आवश्यकता, औचित्यताका आधारमा साथीभाइहरूलाई सँगै लैजाने कुरामा सहजता देखाउन सकिन्छ।’
उनले विशेष महाधिवेशनबाट बाहिर रहेका नेताहरूलाई समेट्नको लागि आवश्यक निर्णय गर्ने सभापतिको क्षेत्राधिकार भएको बताए।
उनले देउवालाई सर्वोच्चको दुईवटा फैसला र निर्वाचन आयोगले पार्टी सभापतिको रूपमा नचिन्ने भएकाले त्यो काम सम्बोधन गर्न नसिकिने बताए।
देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने अडानबारे उनले भने, ‘सर्वोच्च अदालतका दुइटा फैसलाले पनि चिन्दैन। उहाँलाई निर्वाचन आयोगले पनि चिन्दैन, पार्टीको विधानले पनि चिन्दैन। त्यो त उहाँले म नै सभापति हुँ भन्ने कुरा त लाज पनि लजाउँछ नि!’
सर्वोच्च फैसला, पछिल्लो रिटले कांग्रेसको सभापति गगन थापालाई महाधिवेशन गर्न अनुमति दिएको जिकिर गरे।
उनले थपे, ‘उहाँले दिएको रिटकोलाई खारेजै गरेको छ। त्यो भन्दा अगाडि संयुक्त इजलासले पनि त्यही फैसला गरेको छ। पार्टीको विधान, संवैधानिक अङ्ग निर्वाचन आयोगले गरेको निर्णयलाई नमान्ने भन्ने हुन्छ?’
लोकतन्त्र विधिको शासनका निम्ति लडेको नेताले फेरि मै सभापति हुँ भन्दा लाज पनि लजाउने टिप्पणी गरे।










