काठमाडौं । पार्टी निर्णयविपरीत बागमती प्रदेशमा सरकार गठनका लागि समर्थन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टीले कुनै दललाई समर्थन गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थनसहित प्रदेश प्रमुखसमक्ष बुझाइएको पत्र पार्टीको निर्णयविपरीत रहेको जानकारीसमेत प्रदेश प्रमुखलाई गराइसकेको लिङ्देनले बताएका छन् ।
लिङ्देनले पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्न नेताहरूमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
यसैबीच, एमालेका किरण थापा मगरले नेकपा र राप्रपासमेतको समर्थन रहेको दाबी गर्दै आज बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।










