काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ ।
कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूहले अदालत जाने तयारी गरेको हो ।
सर्वोच्च अदालतमा पार्टीको महाधिवेशनसम्बन्धी मुद्दा विचाराधीन रहेकाले प्रक्रिया अघि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताएका छन् ।
उनका अनुसार महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ । सम्भव भएसम्म बुधबार नै रिट दायर गर्ने, नभए एक–दुई दिनभित्र अदालत जाने तयारी रहेको उनले बताए ।
यसअघि देउवा समूहको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएका थिए ।
तर सभापति गगन थापाले भने महाधिवेशन निर्धारित मितिमै हुने अडान राख्दै आएका छन् । असन्तुष्ट पक्षलाई समेट्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशनको कार्यतालिका केही पछाडि सारेका थिए ।









