१५औँ महाधिवेशन समयमै गर्न कांग्रेसले विधानको प्रावधान निलम्बन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न विधानको एक प्रावधान निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले विशेष परिस्थितिमा देखिएको प्राविधिक जटिलता हटाउन विधानको धारा ३५(२)(घ) निलम्बन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । तर, विधानमा उल्लेखित केही समयसीमा र सर्तका कारण निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न प्राविधिक अवरोध देखिएपछि उक्त प्रावधान निलम्बन गर्ने निर्णय गरिएको हो ।

पार्टीको निर्णयमा विशेष परिस्थितिमा १५औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानबमोजिम धारा ३५(२)(घ) निलम्बन गर्ने उल्लेख गरिएको छ ।

उक्त धारामा महाधिवेशनअघि निश्चित समयभित्र सम्पन्न गर्नुपर्ने संगठनात्मक प्रक्रियासम्बन्धी प्रावधानहरू रहेका छन् । पार्टीको वैधानिक म्याद मंसिरमा सकिँदै गर्दा असोजमै महाधिवेशन गर्नुपर्ने दबाब रहेकाले ती प्रक्रिया निर्धारित समयभित्र पूरा गर्न कठिन हुने भएपछि कांग्रेसले विधानको प्रावधान निलम्बन गर्दै महाधिवेशनको बाटो सहज बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्