काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं–२६ की ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
मलेसिया जान लागेका उनीहरूले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राष्ट्र बैंकको मापदण्डअनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा लैजान पाइँदैन।
प्रहरीका अनुसार बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ।
यस्तै, पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद गरिएको प्रहरीले जनाएको छ।










