गगन थापा नेतृत्वको कांग्रेसमा ‘आत्मा छैन, शरीर मात्रै छ’ : प्रकाशशरण महत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा ‘आत्मा’ नभएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले अहिले आधिकारिकता पाएको कांग्रेसमा शरीर मात्रै रहेको र पार्टीको ‘आत्मा’लाई जबरजस्ती बाहिर धकेलिएको दाबी गरेका हुन्।

‘हामी एक्लै हाँक्छौं भन्ने मानसिकता हावी भयो। त्यसकारण सहमति हुन सकेन। त्यसमा हाम्रो कुनै दोष छैन। त्यसपछि हामीले राष्ट्रिय भेलाको आयोजना गर्‍यौं,’ महतले भने, ‘नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यसमा नेपाली कांग्रेसको आत्मा छैन। शरीर मात्रै छ। आत्मालाई जबरजस्ती त्यो शरीरबाट बाहिर धकेलियो।’

उनले अहिले ‘आत्मासहितको नेपाली कांग्रेस’ आवश्यक रहेको बताए। पार्टीका सबै पक्षलाई नजोडेसम्म कांग्रेस पूर्ण रूपमा एकीकृत हुन नसक्ने उनको भनाइ थियो।

‘त्यसकारण आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता छ। यो नजोडिकन आत्मासहितको कांग्रेस बन्न सक्दैन भनेर राष्ट्रिय भेला मन्थनका लागि आयोजना गर्‍यौं,’ उनले भने।

महतले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशन आयोजना गरिएकोप्रति समेत आपत्ति जनाए।

उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैशाखमा नियमित अधिवेशन गर्ने निर्णय सबैको सहभागितामा भएको थियो। तर, आगामी आम निर्वाचनअघि नेतृत्व परिवर्तन नगरे कांग्रेस कमजोर हुने तर्क गर्दै विशेष महाधिवेशन आयोजना गरिएको उनले बताए।

‘नेतृत्व परिवर्तन गर्नैपर्छ, युवा नेतृत्व आउनैपर्छ। त्यसमाथि पनि फलानाकै नेतृत्व आउनैपर्छ भनेर विशेष महाधिवेशनको प्रायोजन गरियो। जसको कुनै आवश्यकता थिएन,’ महतले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्