सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको आज दाहसंस्कार गरिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीमध्ये तिलकुमारी पराजुलीको शव फेला परे पनि उनका श्रीमान् केदारनाथ पराजुलीको शव अझै नभेटिएपछि आज दुवै जनाको दाहसंस्कार गरिँदैछ।

मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ र ६७ वर्षीया तिलकुमारी गत बुधबार भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका थिए। केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीतर्फ गएको बताइएको छ।

खोजीका क्रममा तिलकुमारीको शव आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। आफन्तले सनाखत गरेपछि परिवारले शव काभ्रे ल्याएका थिए।

केदारनाथको शव फेला पर्ने सम्भावना नरहेपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दुवै जनाको एउटै चितामा दाहसंस्कार गर्न लागिएको मण्डनदेउपुर–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनीहरूको दाहसंस्कार मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावतीमा भइरहेको छ। केदारनाथको अवस्था भने अझै अज्ञात रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्