सुकुमबासीलाई जग्गा वितरण गरेको सरकारी प्रचार ‘स्टन्टबाजी’ भएको राप्रपा सांसदको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले सरकारले सुकुमबासीलाई जग्गा वितरण गरेको भन्दै गरिरहेको प्रचारलाई ‘स्टन्टबाजी’को संज्ञा दिएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भाटले रुपन्देहीको रोहिणी गाउँपालिकाको उदाहरण दिँदै वर्षौँदेखि स्थानीयले भोगचलन गर्दै आएको गाउँ ब्लक तथा गाउँ धुरीको जग्गालाई सुकुमबासीलाई वितरण गरिएको भन्दै प्रचार गरिएको दाबी गरे।

उनका अनुसार रुपन्देहीमा हालै वितरण गरिएका लालपूर्जा वास्तविक सुकुमबासीलाई नभई गाउँ ब्लक र गाउँ धुरीका बासिन्दालाई दिइएको हो। त्यहाँ जमिन्दारदेखि गरिबसम्मका बासिन्दाको जग्गा रहेको र लालपूर्जा वितरण प्रक्रिया दुई वर्ष अघिदेखि नै सुरु भएको उनले बताए।

नेपालभर करिब १२ लाख सुकुमबासीले जग्गाका लागि निवेदन दिएको उल्लेख गर्दै सांसद भाटले वास्तविक सुकुमबासी अझै लालपूर्जाको प्रतीक्षामा रहेको दाबी गरे। उनीहरूका निवेदन मन्त्रालयमै थन्किएको आरोप लगाउँदै उनले गाउँ ब्लकको जग्गालाई सुकुमबासीको जग्गा भनेर प्रचार गरेर सरकारले सस्तो लोकप्रियता कमाउन खोजेको बताए।

भाटले सरकारलाई झुटो प्रचार र स्टन्टबाजी बन्द गरी वास्तविक सुकुमबासीको समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे। “झुटो प्रचारले गरिब जनताको चित्त बुझ्दैन, वास्तविक काम गरेर देखाउनुहोस्,” उनले भने।

उनले रुपन्देहीको रोहिणीमा यसअघि नै ५७१ जनाले लालपूर्जा प्राप्त गरिसकेको जानकारी दिँदै सुकुमबासी समस्या राजनीतिक नारामा सीमित नगरी इमानदारीपूर्वक समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्