७ साउन, काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्।
धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालामा बसेर उनले बिहीबार दिउँसोदेखि सत्याग्रह सुरु गरेका हुन्। बुधबार साँझ नै धनगढी पुगेका डा. केसी धर्मशालाको कोठा नम्बर २११ मा बसेका थिए। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रूपमा अनशन सुरु भएको घोषणा गरेका हुन्।
डा. केसीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका थिए। ती माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिए पनि सरकारले बेवास्ता गरेपछि सत्याग्रहमा बस्न बाध्य भएको उनले बताएका छन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा गैरनाफामूलक सार्वजनिक सेवाका रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्। साथै मापदण्डविपरीत निजी मेडिकल कलेजमा सशुल्क सिट वृद्धि, छात्रवृत्ति कटौती तथा स्वार्थ बाझिने व्यक्तिलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्ने प्रयासको समेत विरोध गरेका छन्।
डा. केसीले गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका नियुक्तिप्रति पनि आपत्ति जनाउँदै विश्वविद्यालयलाई राजनीतिक तथा व्यापारिक स्वार्थको केन्द्र बनाउन खोजिएको आरोप लगाएका छन्। उनले विवादित नियुक्ति तत्काल बदर गर्नुपर्ने माग राखेका छन्।
यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विश्वविद्यालय सञ्चालनको विरोधमा नभई यसको शीघ्र सञ्चालन र सुदृढीकरणको पक्षमा रहेको स्पष्ट पारेका थिए। माफियासँग सम्बन्धित व्यक्तिलाई उपकुलपति, रजिस्ट्रार वा अन्य जिम्मेवार पदमा नियुक्त गर्न नहुने उनको भनाइ थियो।
डा. केसीका पाँचबुँदे मागमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादित नियुक्ति बदर गर्ने, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्ने तथा हत्या, आगजनी, लुटपाट र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नेलगायत विषय समावेश छन्।
सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सुधारका विषयमा सरकार उदासीन बनेको आरोप लगाउँदै डा। केसीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।









