काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ। जसको कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको पहाडी भू-भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।









