राहदानी प्रकरण : पूर्वमहानिर्देशक अर्यालसहित ५ जनासँग धरौटी माग, २ जना साधारण तारेखमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । विशेष अदालतले विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँचजना प्रतिवादीसँग धरौटी माग गर्ने आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।

अदालतले मुद्दाका अन्य दुई प्रतिवादीलाई भने साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

अदालतले प्रतिवादीहरूको पदीय हैसियत र संलग्नतालाई विचार गर्दै देहाय बमोजिमको धरौटी रकम माग गरेको छ:

१. तीर्थराज अर्याल (तत्कालीन महानिर्देशक): ५ लाख रुपैयाँ

२. मणिन्द्र राज मल्ल (सहजकर्ता): ५ लाख रुपैयाँ

३. सुनिल कुमार के.सी. (तत्कालीन निर्देशक): ४ लाख रुपैयाँ

४. सोमेश थापा (तत्कालीन शाखा अधिकृत): ३ लाख रुपैयाँ

५. विपिन प्रसाईँ (तत्कालीन कम्प्युटर इन्जिनियर): ३ लाख रुपैयाँ

अदालतले तोकिएको धरौटी रकम बुझाएमा उनीहरूलाई तारिखमा छोड्न र नबुझाएमा नियमानुसार थुनामा राख्न कारागार पठाउन आदेश दिएको छ ।

यस्तै, प्रतिवादीहरू तुलसी प्रसाद आचार्य र राजाराम दाहालको हकमा भने उनीहरूको कार्य अवधि र भूमिकालाई दृष्टिगत गर्दै धरौटी नलिई साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने निर्णय भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागले विद्युतीय राहदानी खरिदका लागि गरेको सम्झौतामा सार्वजनिक खरिद ऐन विपरित काम गरी सरकारलाई हानी पुर्‍याएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

अख्तियारले तीर्थराज अर्यालसहितका कर्मचारीहरूमाथि १८ करोड ४४ लाख ८ हजार ८ सय ७१ रुपैयाँ बिगो दाबी गरेको छ भने सहजकर्ता मणिन्द्र राज मल्लको हकमा १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बिगो दाबी गरेको थियो ।

प्रतिवादीहरूले भने बयानका क्रममा आफूहरूले प्रचलित कानुन अनुसार नै काम गरेको र उल्टै राज्यलाई फाइदा पुग्ने गरी कम मूल्यमा राहदानी खरिद गरेको दाबी गर्दै आरोपको इन्कार गरेका थिए । तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरू निर्दोष हुन् भनी हाल्न नसकिने भन्दै धरौटी माग गर्ने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्