रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा

खबर बुक
  • ख-
  • ख+

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताएको छ ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले आइतबार प्रतिनिधिसभा बैठकमा लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतिर धकेल्न सक्ने चेतावनी दिए । चितवनको सौराहामा पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा रास्वपा र सभापति रवि लामिछानेलाई बधाई दिँदै दुलालले सो पार्टीको नीति र नियतमाथि प्रश्न उठाए ।

‘लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई ‘सेबोटेज’ गर्न खोज्दैछ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने । सांसद दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछु भनेर मत माग्ने र जितेपछि तिनै संरचना खारेजीको नीति लिनु जनताप्रति बेइमानी भएको बताए । उनले भने, ‘प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन भन्ने आधारभूत ज्ञान नहुनेले राजनीति पढेर मात्र राजनीति गर्न आउनुस्,’

सरकारले प्रशासनिक खर्च कटौती र संरचना खारेजीको कुरा गरे पनि व्यवहारमा मन्त्रालयहरूमा सचिवस्तरका सल्लाहकारहरूको भिड जम्मा गरेर खर्च बढाइरहेको उनले आरोप लगाए । ‘एकातिर मितव्ययिताको मीठो भाषण दिने, अर्कोतिर इतिहासमै नभएको गरी सल्लाहकार नियुक्ति गरेर राज्यकोष दोहन गर्ने,’ भन्दै उनले सरकारको आलोचना गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्